विम्बल्डन टेनिसको सेमिफाइनलमा भेनस र कोन्टा भिड्ने

काठमाडौं,असार २८ । छैटौं वरियताकी बेलायती योहाना कोन्टा र दशौ वरियताकी अमेरिकी भेनस विलियम्स विम्बल्डन टेनिसको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । लन्डनमा मंगलबार राती बेलायती कोन्टाले रोमानियाकी सिमाने हालेप र भेनसले लाट्भियाकी जेलेना ओस्टापेन्कोलाई पराजित गरिन् ।

लण्डनस्थित सेन्टर कोर्टमा कोन्टाले अन्तिम चारमा स्थान बनाउन दोस्रो बरियता प्राप्त हालेपमाथी ६ – ७ (२ – ७ ) ७ – ६ (७ – ५ ) र ६ – ४ को सेटमा पराजित गरिन् । योसंगै २६ बर्षिय कोन्टा पछिल्लो ४० बर्षयता विम्बल्डन टेनिसको सेमिफाइनलमा पुग्ने पहिलो बेलायती महिला खेलाडी बनिन् । यसअघि सन् १९७८ मा बेलायती खेलाडी भर्जि्निया वाड सेमिफाइनलमा पुगेकी थिइन् ।

कोन्टाले अब वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनको सेमिफाइनलमा ५ पटकको च्याम्पियन भेनस विलियम्सको सामना गर्ने छिन् । अमेरिकी भेनसले लाट्भियाकी जेलेना ओस्टापेन्कोलाई ६ – ४ र ७ – ५ ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्  ।

योसँगै ३७ बर्षिय भेनसले विम्बल्डन टेनिसको सेमिफाइनलमा पुग्ने सबैभन्दा पाका खेलाडीको किर्तिमान बनाए  । यस्तै भेनसले आफ्नो करियरको १ सयौ जित समेत हासिल गरेकी छिन् ।

Share your thoughts: