फेडेररले जिते आठौं पटक विम्बल्डन टेनिसको उपाधि

काठमाडौं । स्विजरल्याण्डका टेनिस स्टार रोजर फेडेररले कीर्तिमानी आठौं पटक विम्बल्डन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेका छन् । शनिबार भएको फाइनलमा क्रोएसियाका मारिन शिलीचलाई ३ – ० को सेटमा पराजित गर्दै फेडेररले कीर्तिमानी पटक उपाधि जितेका हुन् ।

लण्डनस्थित सेन्टर कोर्टमा भएको फाइनलमा तेस्रो वरियताका फेडेररले शिलीचमाथि ६–३, ६ – १ र ६–४  को सेटमा पराजित गरे । ३५ बर्षिय फेडेररले ११ औ पटक विम्बल्डन टेनिसको फाइनल प्रवेश गर्दा आठौं पटक उपाधि जितेका हुन् । पछिल्लो पटक फेडेररले सन् २०१२ मा सबैभन्दा पुरानो ग्राण्डस्लामको रुपमा परिचित विम्बल्डनको उपाधि जितेका थिए ।

योसंगै फेडेररले आफ्नो करियरमा १९ औं ग्राण्डस्लाम टेनिसको उपाधि जित्न सफल भए । योसँगै फेडेररले अहिलेसम्म सर्वा्धिक बढी ग्राण्डस्लाम टेनिसको उपाधि जित्ने किर्तिमान समेत बनाए । फेडेररले आफ्नै नाममा रहेको १८ औ पटक ग्राण्डस्लाम टेनिसको उपाधि जित्ने किर्तिमान भंग गरेका हुन् ।

विम्बल्डन टेनिसको सेमिफाइनलमा फेडेररले चेक रिपब्लिकका टोमस बर्डिचलाई पराजित गरेका थिए । यस्तै शिलीचले अमेरिकन स्याम क्वेरेलाई पराजित गरेका थिए । महिलातर्फको उपाधि भने स्पेनकी गार्विन मुगुरुजाले जितेकी छिन् ।

Share your thoughts: