युएस ओपनको महिलातर्फ अन्तिम चारमा पुग्ने सबै अमेरिकन खेलाडी

एजेन्सी,भदौं २२ । बर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम प्रतियोगिता युएस ओपन टेनिस अन्तर्गत महिला एकलतर्फ सेमिफाइनलमा पुग्ने सबै खेलाडी अमेरिकन भएका छन् । अमेरिकाको न्युयोर्कमा बिहिबार बिहान भएको अन्तिम क्वाटरफाइनलमा जित निकाल्दै अमेरिकन खेलाडी मैडिसन केइस सेमिफाइनलमा पुगेसंगै युएस ओपनको अन्तिम चारमा पुग्ने सबै खेलाडी अमेरिकन भएका  हुन् । महिला एकलतर्फको अन्तिम क्वाटरफाइनलमा १५ औं बरियताकी मैडिसनले स्टोनियाकी काया कानेपीलाई ६ – ३ र ६ – ३ ले पराजित गरिन् ।

यसअघि भेनस विलियम्स, कोको भेन्डेवेघे र स्लोअना स्टेफेन्सले महिला एकलतर्फ सेमिफाइनलमा स्थान बनाइसकेका थिए । सेमिफाइनलमा प्रवेश गर्ने क्रममा भेनसले चेक रिपब्लिककी पेट्रा किभिटोभा, भेन्डेवेघेले शिर्ष बरियताकी चेक रिपब्लिककी कारोलिना प्लिसकोभा र स्टेफेन्सले लात्भियाकी अनास्टासिजा सेभास्तोभलाई पराजित गरेकी थिइन् । अब सेमिफाइनलमा मैडिसनले भेन्डेवेघे तथा भेनसले स्टेफेन्सको सामना गर्ने छन् । युएस ओपनमा ३६ बर्षपछि पहिलोपटक चार अमेरिकन महिला खेलाडीले सेमिफाइनलमा स्थान बनाएका हुन्  । यसअघि सन् १९८१ मा पनि महिला एकलतर्फ सेमिफाइनलमा पुग्ने सबै खेलाडी अमेरिकन रहेका थिए ।

Share your thoughts: