अन्तर्राष्ट्रिय महिला तथा पुरूष भलिबल सुरू, आर्मीको विजयी सुरुवात

पोखरा, माघ २२ - सृजना विकास केन्द्र सिमलचौरको मुख्य प्रायोजनमा पोखरामा सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सुरु भएको छ । उद्घाटन खेलमा नेपाली सेनाका त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो सेटमा हराएको छ।  आर्मीले २५—१९, २९—२७ र २५—२२ मा हराउँदै अंक बटुलेको छ। आइतबार महिला भलिवलका दुई खेल हुने छन्। पहिलो खेल शसस्त्र प्रहरीको एपिएफ र नेपाली सेनाको त्रिभुव आर्मी क्लब बिच हुनेछ भने दोस्रो खेल भारतको उत्तर प्रदेश भलिवल संघ र नेपाल पुलिस क्लब बीच हुनेछ । 

कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगिताको संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले उद्घाटन गरे ।  प्रतियोगिता माघको २९ गते सम्म सञ्चालन हुनेछ । 

प्रतियोगिताको नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र भारतको उत्तर प्रदेश भलिवल संघबाट महिला र पुरुष टिमको सहभागिता रहने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए। त्यसै गरि न्यु डायमण्ड एकेडेमीबाट महिला टोली र हेल्प नेपाल स्पोर्ट्स क्लबबाट पुरुष टोलीको सहभागीता रहने उनले बताए । प्रतियोगिताका विजेताले महिला / पुरुष टोलीले एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । त्यसै गरि उपविजेताले ७७ हजार ७ सय ७७ रुपैया, तेस्रो हुनेले ३३ हजार ३ सय ३३ कप, मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन्। त्यसै गरि उत्कृष्ट खेलाडीले १० हजार, वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट सटर, वेष्ट डिफेन्स र वेष्ट सर्भले नगर ५ हजार रुपैया पाउने छन् । 

-setopati.com

Share your thoughts: