महिलातर्फ एपिएफले पुलिसलाई र पुरुषतर्फ पुलिसले एपिएफलाई हरायो

पोखरां,माघ २६ ।  सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा एपिएफ क्लब महिला र नेपाल पुलिस क्लब पुरुषतर्फको फाइनलमा पुगेका छन् । महिलातर्फ एपिएफले पुलिसलाई र पुरुषतर्फ पुलिसले एपिएफलाई हराएका थिए ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा पुलिसलाई २५–१५, २५–१४ र २५–१५ को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफकी रेश्मा भण्डारी ओमेन अफ द म्याच घोषित भइन् । एपिएफले न्यु डायमण्ड र पश्चिमाञ्चलबीचको विजेतासँग फाइनल खेल्नेछ ।

एपिएफका प्रशिक्षक प्रकाश थपलियाले पुलिस कमजोर टोली नभएपनि नयाँ खेलाडीमा रहेको अनुभवको कमी र आफ्ना खेलाडी फर्ममा हुँदा जित सम्भव भएको बताए । पुलिसका प्रशिक्षक भरत शाहले नयाँ खेलमा अनुभवको कमी भएकाले हार्नु परेको बताए । शाहले टोलीमा चुडा खड्काको अभाव खड्कीएको बताए ।

पुरुष तर्फको सेमिफाइनलमा पुलिसले एपिएफलाई ३०–२८,१९–२५,२५–१६ र २५–१४ जितेको थियो । पुलिसका कुल बहादुर थापा म्यान अफ द म्याच घोषित भए । पुलिसले अर्को विभागिय टोली आर्मी र पश्चिमाञ्चलको विजेतासँग फाइनल खेल्नेछ ।

प्रतियोगिता सृजना समाज केन्द्रको प्रायोजन तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिको सहयोगमा सञ्चालन भएको हो ।

Share your thoughts: