नयाँबजार कप पुरुष भलिबल : आर्मीलाई दोहोरो सफलता

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो नयाँ बजार कप राष्ट्रिय पुरुष खुला भलिबल प्रतियोगितामा बुधबार दोहोरो सफलता हात पारेका छन् । नयाँ बजारस्थित सोसियल टाउन प्लानिङको कोर्टमा भएको उद्घाटन खेलमा आयोजक नयाँ बजार सामाजिक युवा क्लव र गिताञ्जली कलेजलाई हराउँदै आर्मीले दोहोरो सफलता हात पारेको हो । आर्मीले नयाँ बजारलाई २५–२०, २५–१६ र २५–१९ को सेटमा हरायो । दोस्रो खेलमा पनि आर्मीले गिताञ्जलि कलेजमाथि २५–१२, २५–१४ र २५–१३ को नतिजा निकाल्यो ।

बुधबार नै भएको अर्को खेलमा साविक विजेता नेपाल पुलिस क्लबले पनि जित निकाल्यो । पुलिस क्लबल ढोरपाटन स्पोर्ट्स क्लवलाई ३–० कै सोझो सेटमा हरायो । पुलिसले ढोरपाटनमाथि २५–९, २५–१८ र २५–१७ को सहज जित निकाल्यो ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइएको छ । प्रतियोगिताको विजेताले एक लाख ७५ हजार एक सय ११ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ९० हजार एक सय ११ र तेस्रो स्थान हासिल गर्ने टोलीले ५१ हजार एक सय ११ र चौथो हुने टोलीले २५ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले आकर्षक ट्रफी प्राप्त गर्नेछन् भने विधागततर्फ  वेस्ट स्पाइकर, सर्भर, ब्लकर, डिफेन्स, सेटर, क्वीकर र वेस्ट कोचलाई पनि आकर्षक ट्रफीबाट पुरस्कृत गरिने भएको छ । 


प्रतियोगिताको उद्घाटन परराष्ट्र मन्त्री प्रकाशशरण महतले गरेका थिए । उद्घाटन समारोहमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा,महासचिव जितेन्द्रबहादुर चन्द,आयोजक क्लबका अध्यक्ष भगवान थापा,महासचिव टिकाराज पाण्डे,प्रतियोगिता संयोजक पदम श्रेष्ठ लगायतको उपस्थिति थियो । 

Share your thoughts: