तेस्रो आरबीबी–एनभीए महिला-पुरुष क्लव लिग भलिबल भोलिदेखि

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा तेस्रो आरबीबी–एनभीए महिला-पुरुष क्लव लिग भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जावलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जावलाखेल स्पोर्टस क्लबले सहभागिता जनाउने छन् ।

लिगलाई रोमाञ्चक बनाउन र खेल स्तरलाई बढाउन हरेक टोलीबाट चार चार जना विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको सोमबार आयोजना गरेको टेक्निकल मिटिङमा प्रतियोगिता संयोजक एवं नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । कुल २१ लाख रुपैयाँ बजेट रहेको लिगको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

Share your thoughts: