केएनपी राष्ट्रिय महिला भलिबल:उपाधिका लागि एपीएफ र न्यु डायमण्डको भिडन्त आज

काठमाडौं ।  केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमण्ड एकेडेमी भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा विजयी हुँदै एपीएफ र न्यु डायमण्डले उपाधि भिडन्त पक्का गरेका हुन् । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । खेलको सुरुदेखि नै दबाब बढाएको एपीएफले २५–११, २५–२० र २५–१६ को सेटमा स्तब्ध बनायो । एपीएफकी सरस्वती चौधरीले ४४ स्पाइकबाट २१ र सर्भिसबाट चार अंक बटुलिन् । यस्तै नेविका चौधरीले ३५ स्पाइकबाट १५ अंक जोडिन भने उषा विष्टले स्पाइकबाट चार र ब्लकबाट दुई अंक बटुलिन् । पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट ११ र सर्भिसबाट एक अंक जोडिन् । यस्तै मनिषा चौधरीले स्पाइकबाट सात र सर्भिसबाट एक अंक जोडिन् ।

यसैगरी दोस्रो सेमिफाइनल खेलमा न्यु डायमण्ड  एकेडेमीले पश्चिमाञ्चल भलिबल संघलाई ३–० कै सोझो सेटमा पाखा लगायो । पहिलो सेटमा कडा टक्कर दिएको पश्चिमाञ्चलले दोस्रो र तेस्रो सेटमा खराव प्रदर्शन गर्दा नतिजा न्यु डायमण्डलाई सुम्पन बाध्य भयो । 

पहिलो सेटमा २५–२२ को कडा टक्कर पाएको न्यु डायमण्डले त्यसपछि भने २५–९ र २५–१४ को सहज जित निकाल्यो ।  न्यु डायमण्ड लाई जित दिलाउन प्रतिभा मालीको योगदान महत्वपूर्ण रह्यो । उनले ६६ स्पाईक प्रहार गर्दा ३८ अंक जोडिन । यस्तै सेटर कृपा अधिकारीले सर्भिसबाट सात अंक जोडिन् । पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ र अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । मञ्जुले ३४ सटबाट सात र सर्भिसबाट दुई अंक जोडिन् । 

बहुराष्ट्रिय कम्पनी जापान कन्साई नेरोल्याक पेन्ट्स (केएनपी)को मुख्य प्रायोजन तथा शिवम् सिमेन्टको सह–प्रायोजनमा संचालन भएको प्रतियोगिताको विजेताले प्राप्त गर्ने १ लाख ५० हजार क्वायरटुफ म्याट्रेसले प्रायोजन गरेको छ । त्यस्तै उपबिजेताले १ लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पनि १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । विधागत उत्कृष्टतर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकले जनही तीन हजार रुपैयाँसहित आकर्षक ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

Share your thoughts: