भलिबलकी खेलाडी प्रतिभा माली र प्रशिक्षक कुमार राई सम्मानित

काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यु डायमन्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राई “शेरवहादुर खड्का स्मृति खेलकुद अवार्ड” बाट सम्मानित भएका छन् । राष्ट्रिय टोलीकी स्पाईकर माली र प्रशिक्षक रार्ई शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले बुधबार नगदसहित “शेरवहादुर खड्का स्मृति खेलकुद अवार्ड” बाट सम्मानित गरेका हुन् ।  

घरेलु प्रतियोगितामा उत्कृष्ट स्पाइकर रहदै आएकी प्रतिभालाई खेलकुदसँगै पढाइमा पनि अब्बल नतिजा ल्याएप्छि प्रतिष्ठानले नगद ५० हजारसहित सम्मान गरेको हो ।  प्रतिभाले माध्यमिक शिक्षा परीक्षा (एसईई)  को हालै सार्वजनिक नतिजामा तीन दशमलव पाँच जीपीए अर्थात ग्रेड ए ल्याएकी छिन् । प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सानै उमेरदेखि भलिबल खेलमा लागेर छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल प्रतिभालाई खेलकुदका साथै पढाईलाई सँगसँगै अगाडि बढाउन सहज होस् भन्ने उद्देश्यले सम्मान गरेको बताए । 

यसैगरी महिला भलिबलको विकासमा एक दशकदेखि क्रियाशील रहँदै आएका राई नगद २५ हजार रुपैयाँबाट सम्मानित भए । नलाई शैक्षिक क्षेत्रलगायत महिला भलिबलको विकास र विस्तारका साथै खेलाडी उत्पादनमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।  यसैगरी खेलाडी उत्पादनमा निरन्तर क्रियाशील रहँदै आएका राईले महिला भलिबलको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका लागि सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष खड्काले बताए । राष्ट्रिय खेलाडी माली र प्रशिक्षक राईलाई बहुराष्ट्रिय कम्पनी कन्साई निरोल्याक पेन्ट( केएनपी) जापानका कन्ट्री डाइरेक्टर मनोज मिश्र, शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयल, प्रतिष्ठानका संरक्षक गमली खड्का अध्यक्ष रञ्जन खड्का,उपाध्यक्ष सिता खड्कालगायतले सम्मान गरेका थिए ।

Share your thoughts: