प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको तयारी पूरा

नेपालगन्ज । नेपालगन्जमा आयोजना हुने पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

नेपालगन्ज रंगशालामा बिहिबार सुरु हुने प्रतियोगिताको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिम नेपालगन्ज आइसकेको र  यो प्रतियोगिता सदभाव, धार्मिक र सांस्कृति सदभाव र एकतालाई कायम राख्न योजना गरेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटनलाई भब्य बनाउन विशेष तयारी गरेको बताउदै अध्यक्ष ठकुरीले भने , “प्रधानमन्त्री कप महिला भलिबलले खेलको विकासमा मात्र योगदान गरेको छैन । हामीले खेलको माध्यमबाट सिमामा सदभाव, धार्मिक र सांस्कृति सदभाव र एकतालाई कायम गर्न पनि योगदान गरिरहेको छ ।”

प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्च, आयोजक टिम, बिदेशी टिममा बंगलादेश र भारत देहरादुतको टिमले प्रतिस्पर्धा गर्नेछन । फागुन ७ गते सम्म चल्ने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ ।  प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछ ।

यस्तै पत्रकार सम्मेलनमा  सहभागी टिमका कप्तानहरुले प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।  नेपाल पुलिस क्लबकी कप्तान कोपिला उप्रेतीले प्रधानमन्त्रीको नाममा भैरहेको प्रतियोगिताले हरेक वर्ष स्तर बढाउँदै लगेकोमा खुसी लागेको बताइन । उनले भनिन, “हामी प्रतियोगिता खेल्न पाउँदा उत्साही हुन्छौं । यो प्रतियोगिताले महिला खेलकुद, महिला भलिबल र महिला शसक्तिकरणमा योगदान गर्छ भन्ने लाग्छ । प्रतियोगिता गरेकोमा आयोजकलाई धन्यवाद ।”

बंगलादेशको इफान गु्रप महिला भलिबल टोलीकी कप्तान लाकी खातुनले प्रतियोगितामा नेपाली खेलाडीसँग खेल्न पाउनुलाई अवसरको रुपमा लिएको बताईन ।

आयोजक न्यु इन्द्रेणी बागेश्वरी स्पोटिङकी कप्तान शर्मिला नेपालीले हरेक वर्ष आफुभन्दा सिनियर दिदीसँग खेल्न पाउँनु उत्कृष्ट अवसर भएको बताइन ।

यस्तै देहरादुनकी कप्तान कृति थापाले प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउन सहयोग गरिरहेको बताइन ।

Share your thoughts: